यार्सागुम्बा सङ्कलनका लागि विद्यार्थी लेक उक्लिएपछि अपिहिमालका सबै सामुदायिक विद्यालय १५ दिन बन्द

दार्चुला । अपीहिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय बन्द हुने भएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू लेकतिर गएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख २७ गते आइतबारदेखि पालिकाभरिका विद्यालय १५ दिनका लागि बन्द गरिनेछ। उनले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्न लागिएको जानकारी दिए।

गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालयहरू आगामी जेठ १० गतेदेखि पुनः सञ्चालनमा आउने जनाएको छ। अपी हिमाल गाउँपालिकाभर रहेका २२ सामुदायिक विद्यालयमा करिब ११ सय विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलनका लागि लेकतिर जाने गरेका छन्।

स्थानीयवासी वैशाख अन्तिम सातादेखि नै यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा पुगिसकेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने भएकाले यहाँका अधिकांश परिवारका सदस्यहरू पाटन जाने गरेका छन्।

यार्सा सिजन सुरु भएसँगै जिल्लाका मार्मा गाउँपालिका, नौगाड गाउँपालिकाव्यास गाउँपालिका का बासिन्दा पनि लेकतिर उक्लिएका छन्। कतिपय गाउँका घरहरूमा ताला लागेको अवस्था रहेको स्थानीयले बताएका छन्।

जिल्लामा सबैभन्दा बढी सङ्कलकहरू अपी हिमाल क्षेत्रका लोलु, रिङ्देपानी, सतगंगा, कालीढुंगा, काटै, घट्टेखोला, धरमघर, क्षति र चाइमटेलालगायतका क्षेत्रमा पुगेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.