नौगाड गाउँपालिकामा ‘डिजिटल नागरिक वडापत्र’ लागू

दार्चुला । नौगाड गाउँपालिकाले डिजिटल नागरिक वडापत्र (Digital Citizenship Charter) आधिकारिक रूपमा प्रयोगमा ल्याएको छ । स्थानीय तहबाट प्रवाह हुने सेवाहरूलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन गाउँपालिकाले डिजिटल प्रणालीमार्फत नागरिक वडापत्र सञ्चालनमा ल्याएको जनाएको छ ।

डिजिटल नागरिक वडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, सम्बन्धित कानुनी व्यवस्था, सेवा उपलब्ध गराउने शाखा तथा जिम्मेवार कर्मचारी सम्बन्धी विस्तृत विवरण समावेश गरिएको छ । साथै सेवाग्राहीले सेवा लिनका लागि पेश गर्नुपर्ने आवश्यक कागजात, सेवा प्राप्त गर्न लाग्ने समय, शुल्क तथा सेवा सुविधा सम्बन्धी जानकारी पनि समेटिएको छ ।

गाउँपालिकाका अनुसार नागरिकहरूले अब कुन सेवा कुन शाखाबाट, कसरी र कति समयमा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् । डिजिटल वडापत्रमा सम्बन्धित शाखा तथा जिम्मेवार व्यक्तिको फोन नम्बर र इमेल ठेगाना समेत राखिएकोले सेवाग्राहीलाई प्रत्यक्ष सम्पर्क गर्न सहज हुने विश्वास गरिएको छ ।

स्थानीय सरकार सञ्चालनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो प्रणालीले नागरिकलाई सूचना प्रवाहमा सहजता ल्याउनुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने गाउँपालिकाको अपेक्षा रहेको छ ।

Leave A Reply

Your email address will not be published.