दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा जिल्लाभर भएका अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार वैशाख महिनामा विभिन्न प्रकृतिका १४ वटा मुद्दा दर्ता भएका छन् भने १५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये ज्यान सम्बन्धी ६, महिला तथा बालबालिका सम्बन्धी २ र अन्य प्रकृतिका ६ वटा मुद्दा रहेका छन् । आत्महत्या, चोरी, सामाजिक अपराध, सवारी ज्यान तथा संगठित आर्थिक अपराधका घटना भने शून्य रहेको कार्यालयले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ६ वटा उजुरी परेकोमा १९–२५ वर्ष उमेर समूहका ३ जना र २६–४५ वर्ष उमेर समूहका ३ जना पीडित रहेका छन् । घरेलु हिंसासम्बन्धी ६ वटा उजुरीमध्ये सबै घटनामा मिलापत्र भएको र अदालत पठाउनुपर्ने अवस्था नआएको प्रहरीले जनाएको छ ।
त्यस्तै हराएका तथा फेला परेका व्यक्तिहरूको विवरणअनुसार ४ महिला र १ बालिका हराएको तथा सबैलाई फेला पारिएको छ ।
वैशाख महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट २२ वटा उजुरी प्रत्यक्ष रूपमा दर्ता गरिएको थियो । ती सबै उजुरीमा फछ्र्यौट भइसकेको प्रहरीको दाबी छ । प्रहरीले चाल मुद्दाअन्तर्गत १ मुद्दामा १५ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ । साथै १ मुद्दामा ७ जनालाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरी १ वर्ष १० महिना १७ दिन कैद तथा ३० हजार ३०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा व्यक्तिगत सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ । मातहत प्रहरी युनिटमार्फत समुदाय र विद्यालय केन्द्रित १४४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि कार्यालयले जनाएको छ ।
त्यस्तै लागूऔषध दुरुपयोग, अवैध मदिरा बिक्री वितरण, जुवातास तथा घरेलु हिंसाजस्ता अपराध नियन्त्रणका लागि नियमित अनुगमन र कानुनी कारबाहीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।