प्रधानाध्यापक मृत्यु घटनामा निष्पक्ष छानबिनको माग
भोली सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठन बन्द गरिने
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु घटनाप्रति जिल्लाका शैक्षिक संस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुला र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दार्चुलाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्।
प्यान दार्चुलाले जारी गरेको ज्ञापनपत्रमा स्वर्गीय धामीले सार्वजनिक गरेको ‘सुसाइड नोट’ मा आफूलाई मानसिक यातना, चरित्रहत्या, अपमान, धम्की तथा असह्य दबाब दिइएको उल्लेख रहेको भन्दै घटनालाई सामान्य आत्महत्या भन्दै टार्न नहुने जनाएको छ। संघले दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई उनीहरुले ज्ञापन पत्र पनि बुझाएका छन् ।
संघले घटनाको उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न, प्रमाण नष्ट गर्न खोज्ने वा अनुसन्धान प्रभावित पार्ने व्यक्तिमाथि कारबाही गर्न तथा शिक्षक र प्रधानाध्यापकलाई मानसिक दबाब र राजनीतिक हस्तक्षेपबाट सुरक्षित वातावरण सुनिश्चित गर्न माग अघि सारेको छ। साथै, स्वर्गीय धामीलाई शहीद घोषणा गर्न र भोली जेठ ६ गते दार्चुला जिल्लाका ९ वटैस्थानीय तहरुका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठन पाठन बन्द गरिने भएको छ ।
यस्तै,प्याब्सन दार्चुलाले पनि विज्ञप्ति जारी गर्दै धामीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ। संस्थाले शिक्षा सुधार, अनुशासन र गुणस्तरीय शिक्षाका लागि समर्पित शिक्षकलाई मानसिक दबाब र असहज परिस्थितिमा पुर्याइएको सार्वजनिक तथ्यले शिक्षा क्षेत्र स्तब्ध भएको जनाएको छ।
प्याब्सनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गर्दै शिक्षकको आत्मसम्मान र सुरक्षाका पक्षमा सम्पूर्ण शैक्षिक समुदाय एकजुट भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
