काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा एक होटेल सञ्चालकमाथि कुटपिट भएको छ । भीमदत्त नगरपालिका–४, महेन्द्रनगरको ४ नम्बर गल्लीमा रहेको ग्रान्ड प्यासिफिक होटेलका सञ्चालक गोविन्द चन्दमाथि कुटपिट भएको हो ।
एक समूहको कुटपिटबाट चन्द घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न युवाहरूको खोजी थालेको छ । पाँच/६ जनाको समूहले होटेलमै पुगेर उनीमाथि कुटपिट गरेका थिए । पुरानो रिसिइबीका कारण झगडा भएको आशंका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीका अनुसार, घटना शनिबार रातिको हो । कुटपिटमा संलग्नहरूको खोजीकार्य जारी रहेको एसपी गिरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । होटेल सञ्चालकमाथि कुटपिट भएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।