दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाले वन प्रवेश र संकलनका लागि अनुमतिपत्र तथा शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रले एक सूचना जारी गर्दै बिना अनुमति वन प्रवेश नगर्न र तोकिएको शुल्क बुझाई अनुमतिपत्र लिएर मात्र यार्सागुम्बा संकलन गर्न आग्रह गरेको हो।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार संकलनकर्ताको क्षेत्र र बसोबासका आधारमा शुल्क निर्धारण गरेको छ । जस अनुसार कार्यालयले अपी नाम्पा संरक्षण क्षेत्र भित्रका बासिन्दाहरूका लागि: रु. ५सय रुपैँया ,अपी नाम्पा संरक्षण क्षेत्र रहेको जिल्ला (दार्चुला) का बासिन्दाहरूका लागि: रु.२ हजार रुपैँया र अन्य जिल्लाका बासिन्दाहरूका लागि ३,हजार रुपैँया शुल्क निर्धारण गरिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै कार्यालयले वन क्षेत्रमा लैजान निषेध गरिएका सामानहरूको पनि सूची सार्वजनिक गरेको छ । सुरक्षा र वातावरणीय सन्तुलनलाई ध्यानमा राख्दै संकलन क्षेत्रमा चक्कु, छुरी, भाला, गुलेली विस्फोटक पदार्थ, विष, पासो कुकुर, खच्चर, घोडा, घरपालुवा पशुपंक्षी लैजान निषेध गरेको छ । जिल्लाका हिमाली क्षेत्रमा अहिले यार्सागुम्बा संकलनको सिजन जारी रहेको छ ।
