जेठ १५ देखि यार्चागुम्बा पाटन खुल्ने, दार्चुलामा १३८ जनाले लिए सङ्कलन अनुमति

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमति पत्र (पूर्जी) लिएका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण सुरु गरेकोमा आइतबारसम्म उक्त सङ्ख्यामा स्थानीयले अनुमति लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी अरुण चौधरीका अनुसार हालसम्म वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन् ।

सङ्कलनकर्ताहरूको सहजताका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयसहित जिल्लाका ११ वटा विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ । संरक्षण क्षेत्रले सङ्कलनकर्ताहरूको भौगोलिक अवस्थाअनुसार तीन प्रकारका परिचयपत्र र शुल्क निर्धारण गरेको छ ।

संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि ‘निलो कार्ड’ वापत प्रतिव्यक्ति ५०० रुपैयाँ, दार्चुला जिल्लाभित्रका अन्य नागरिकका लागि ‘पहेँलो कार्ड’ वापत २ हजार रुपैयाँ तथा जिल्ला बाहिरका नागरिकका लागि ‘रातो कार्ड’ वापत ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चागुम्बा पाइने पाटनहरू प्रत्येक वर्ष जेठ १५ गतेदेखि असार १५ गतेसम्म मात्रै खुला रहने कानुनी व्यवस्था छ ।

तर कानुनी रूपमा पाटन खुल्न बाँकी रहे पनि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी भने वैशाख महिनादेखिनै हिमाली पाटन क्षेत्रमा पुगेर यार्चागुम्बा सङ्कलनमा जुटिसकेका छन् ।

दार्चुलाका लोलु, अपीफेद, सतगंगा, काटैघट्टे, खोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्चागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अनुमति पत्र नलिई अवैध रूपमा यार्चागुम्बा तथा अन्य बहुमूल्य जडीबुटी सङ्कलन नगर्न र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.