दूषित खानेपानीको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

दार्चुला — महाकाली नगरपालिका वडा नं. ४/५ का स्थानीय उपभोक्ताहरूले दूषित खानेपानीको समस्या तत्काल समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाएका छन्।

उपभोक्ताहरूले लामो समयदेखि फोहोर, धमिलो, हिलो तथा भेल मिसिएको पानी “खानेपानी” को नाममा प्रयोग गर्न बाध्य भएको गुनासो गरेका छन्। पटक–पटक बैठक, अनुगमन, छलफल तथा आश्वासनका कार्यक्रम भए पनि अहिलेसम्म कुनै ठोस सुधार नभएको उनीहरूको आरोप छ।

ज्ञापनपत्रमा खानेपानी समितिलाई बारम्बार समस्या जानकारी गराउँदा पनि जिम्मेवारीबाट पन्छिने तथा जिल्ला प्रशासन कार्यालयले निर्णय मात्रै गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण उपभोक्ताहरू चरम पीडामा परेको उल्लेख गरिएको छ।

स्थानीयले “शुद्ध खानेपानी प्राप्त गर्न आखिर हामीले कसको ढोका ढकढक्याउने ? कससँग हारगुहार गर्ने ? कुन निकायसँग न्याय खोज्ने ?” भन्दै आक्रोश व्यक्त गरेका छन्।

ज्ञापनपत्रमार्फत जिल्ला प्रशासन कार्यालय, महाकाली नगरपालिका तथा वृहत खानेपानी समितिलाई २४ घण्टाभित्र लिखित रूपमा स्पष्ट जवाफ दिन माग गरिएको छ।

स्थानीयका अनुसार वडा नं. ४/५ का धेरै स्थानमा नालीभित्रबाट खानेपानी पाइपलाइन बिछ्याइएको, ठाउँ–ठाउँमा पाइप फुटेको तथा ढलको पानी प्रत्यक्ष रूपमा खानेपानीमा मिसिएको अवस्था छ। हाल खोलाबाट सिधै पानी ल्याएर वितरण गरिनु जनस्वास्थ्यविपरीत कार्य भएको भन्दै यसले बजार क्षेत्रमा महामारी फैलिन सक्ने उच्च जोखिम सिर्जना गरेको चेतावनी दिइएको छ।

दूषित खानेपानीका कारण उत्पन्न भएका तथा भविष्यमा हुन सक्ने सम्पूर्ण स्वास्थ्य समस्याको जिम्मेवारी सम्बन्धित वृहत खानेपानी समितिले लिनुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ।

उपभोक्ताहरूले तत्काल प्राविधिक परीक्षण गरी नालीभित्र तथा असुरक्षित क्षेत्रमा रहेका पाइपलाइनको दीर्घकालीन समाधान गर्नुपर्ने प्रमुख माग अघि सारेका छन्। ज्ञापनपत्रको बोधार्थ गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, वृहत खानेपानी उपभोक्ता तथा सरसफाइ समिति दार्चुला तथा महाकाली नगरपालिकालाई समेत पठाइएको छ।

Leave A Reply

Your email address will not be published.