काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको आर्थिक विधेयक आर्थिक विधेयक २०८३ मार्फत मदिराजन्य पेय पदार्थको अन्तःशुल्क दरमा वृद्धि गरेको छ ।
कानुन आयोगले सार्वजनिक गरेको पुरानो दररेट र नयाँ विधेयकको दररेट तुलना गर्दा बियर, वाइन र कम शक्ति भएका मदिराको कर बढाइएको छ ।
बियरको अन्तःशुल्कमा प्रति लिटर १५ रुपैयाँसम्म वृद्धि गरिएको छ । चालु वर्ष प्रति लिटर २४० रुपैयाँ रहेकोमा रहेकोमा नयाँ विधेयकले यसलाई बढाएर २५५ पुर्याएको छ ।
अल्कोहल रहित बियरमा शतप्रतिशत वृद्धि भएको छ । पहिले प्रति लिटर ४५ रुपैयाँ रहेकोमा अहिले ९० रुपैयाँ पुर्याइएको छ । छ्याङ (कन्ट्री बियर) पहिले प्रति लिटर ४८ रुपैयाँ रहेकोमा अब ५० रुपैयाँ कायम गरिएको छ ।
वाइनको अन्तःशुल्कमा पनि वृद्धि गरिएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइन पहिले प्रति लिटर ४६० रुपैयाँ रहेकोमा अहिले ४९० रुपैयाँ पुगेको छ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनको अन्तःशुल्क पहिले प्रति लिटर ५३५ रुपैयाँ रहेकोमा अहिले ५७० रुपैयाँ पुर्याइएको छ ।
सेम्पेन, सेरी, साके पहिले प्रति लिटर ५१६ रहेकोमा नयाँ अन्तःशुल्क दररेट अनुसार ५४० देखि ५७० सम्म (प्रकार हेरी) कायम गरिएको छ ।
तर उच्च गुणस्तरका र धेरै अल्कोहल भएका प्रिमियम’ ब्रान्डका कडा मदिरा (ह्विस्की, ब्रान्डी, रम, भोड्का) मदिराको करमा भने खासै परिवर्तन गरिएको छैन, तर केही तल्लो तहका ब्रान्डमा वृद्धि देखिएको छ ।
मदिरा मिश्रित तयारी पेय ५ प्रतिशतसम्म अल्कोहल भएको पेयमा पहिले प्रति लिटर २४० रुपैयाँ रहेकोमा नयाँ दरमा २५५ रुपैयाँ पुर्याइएको छ ।
सरकारले विशेष गरी बियर र मध्यम स्तरका मदिरा (४० र ५० यु.पी.) को कर बढाएर राजस्व वृद्धिको लक्ष्य राखेको देखिन्छ । उच्च मूल्यका मदिराको दररेटमा भने स्थिरता कायम गरिएको छ ।
आयातित मदिराको हकमा अल्कोहलको मात्रामा १ प्रतिशतसम्मको तलमाथि भएमा सोही दरबन्दी लाग्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।