काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । गिरी दार्चुला जिल्ला न्यायाधीश थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीले सफाइ पाउने फैसला सुनाएको हो । सर्वोच्चले उच्च अदालत पाटनबाट सफाइ पाउने गरी भएको फैसला सदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते सफाइ पाउने ठहर गरेको थियो ।
त्यसअघि जिल्ला अदालत काठमाडौंले भने गिरीलाई दोषी ठहर गरेको थियो । उनलाई जिल्लाले सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको सजाय तोकेको थियो । मुद्दा तहतह हुँदै सर्वोच्च पुगेको हो ।
गिरीविरुद्ध उनकै पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पूर्वपत्नी रावलको जाहेरीपछि तत्कालीन अवस्थामा प्रहरीले गिरीलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरेको थियो ।
उच्च अदालतबाट सफाइ पाएपछि न्यायाधीश गिरी पूर्ववत् न्यायसम्पादनको कार्यमा फर्किएका हुन् ।