दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुला जिल्ला समितिको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते हुने भएको छ। रास्वपा दार्चुला जिल्ला समितिले जेठ १८ गते एक सूचना जारी गर्दै अधिवेशनको मिति र स्थान तय भएको जानकारी दिएको हो।
पार्टीका दार्चुला जिल्ला सभापति राजेश सिंह सामन्तद्वारा हस्ताक्षरित सूचना अनुसार, विधान बमोजिमका जिल्ला अधिवेशनका सम्पूर्ण प्रतिनिधिहरूलाई उक्त अधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
पार्टीले यस ऐतिहासिक प्रथम जिल्ला अधिवेशनमा जिल्लाका सम्पूर्ण सदस्यहरू, शुभेच्छुक तथा सहयोगीहरू सबैलाई हार्दिक निमन्त्रणा समेत गरेको छ।
पार्टीले ऐतिहासिक प्रथम जिल्ला अधिवेशन खलंगामा गर्ने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले जिल्लाका सबै स्थानीय तह र वडाहरूमा सांगठनिक विस्तारको कार्य सम्पन्न गरेको छ ।
जिल्लाका सम्पूर्ण ६१ वटै वडाहरू र सबै ९ वटै पालिकाहरूमा भेला तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो ।
उक्त अधिवेशनहरू मार्फत वडा समिति, पालिका समिति र विभिन्न विभागहरू गठन गरिनुका साथै अधिवेशन प्रतिनिधि छनौटको कार्य समेत सम्पन्न भएको जिल्ला समिति सभापति राजेश सिह सामन्तले जानकारी दिए ।
