दार्चुला, । दार्चुलाको महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन माध्यमिक विद्यालय धापमा नेपाली विषयको माध्यमिक तह (कक्षा ९–१०) को दरबन्दी कटौती गरिएको भन्दै अभिभावक तथा स्थानीयवासीले कडा आपत्ति जनाएका छन्।
उनीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै महाकाली नगरपालिका शिक्षा विकास तथा समन्वय इकाई कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
अभिभावक तथा स्थानीयवासीले नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा विद्यालयमा विद्यार्थी संख्या वृद्धि हुँदै गएको र प्राविधिक तथा व्यावसायिक धारसमेत सञ्चालन भइरहेका कारण दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा नेपाली विषयको दरबन्दी कटौती गर्नु शैक्षिक हितविपरीत भएको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनलाई समेत जानकारी नदिई दरबन्दी कटौती गरिएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ। यसले विद्यालयमा शिक्षक अभाव सिर्जना हुने, पठनपाठन प्रभावित हुने तथा विद्यार्थीको शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
स्थानीयवासीले आफूहरू शिक्षामैत्री नगरको अवधारणालाई आत्मसात् गर्ने पक्षमा रहेको जनाउँदै शिक्षक दरबन्दी घटाउने निर्णयले त्यसको मर्ममाथि प्रहार गरेको बताएका छन्। उनीहरूले दरबन्दी कटौतीको निर्णय तत्काल खारेज गरी यथावत् कायम राख्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमा माग सम्बोधन नभए महाकाली नगरपालिका, नगरकार्यपालिकाको कार्यालय तथा अन्य सरोकारवाला निकायहरूमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ। आन्दोलनबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने स्थानीयवासीको भनाइ छ।
उक्त ज्ञापनपत्रको बोधार्थ शिक्षा विकास तथा समन्वय इकाइ दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलामा समेत पठाइएको छ।
स्थानीय अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिई समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।
