राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मालिकार्जुन गाउँपालिका कार्यसमितिले मालिकार्जुन गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सुशासन सुधारका लागि २२ बुँदे ज्ञापनपत्र बुझाएको छ।
रास्वपा मालिकार्जुन गाउँपालिका कमिटीका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सेवा छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउनुपर्ने, स्वास्थ्य संस्था तथा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने, कृषि तथा पशु सेवा गाउँस्तरमै प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएका छन्।
त्यस्तै, गाउँपालिकाले विगत दुई कार्यकालमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको विवरण सार्वजनिक गर्नुपर्ने, सरकारी सवारीसाधनमा नम्बर प्लेट राख्नुपर्ने, आधारभूत अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनुपर्ने, विषयगत शिक्षक व्यवस्थापन गरी शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने माग पनि गरिएको छ।
ज्ञापनपत्रमा बजेट तथा योजना वितरणमा पारदर्शिता कायम गर्न, एउटै व्यक्ति वा स्थानमा केन्द्रित कार्यक्रमको अन्त्य गर्न, प्रभावकारी अनुगमन गर्न तथा विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय, राजनीतिक दल र स्वयंसेवक समूहको सहभागितामा कार्ययोजना बनाउनुपर्ने उल्लेख गरिएको छ।
यसैगरी वर्षायाममा अवरुद्ध हुने सडक तत्काल सञ्चालनमा ल्याउन स्वयंसेवक दस्ता परिचालन गर्ने, प्रयोगविहीन अवस्थामा रहेका एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउने, फजुल खर्च नियन्त्रण गर्ने, बेरुजु असुलउपर गर्ने तथा करार कर्मचारीको पारिश्रमिक समयमै उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ।
रास्वपा मालिकार्जुन गाउँपालिका कमिटीका तर्फबाट गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको वडा नम्बर–३ का सभापति शेरसिंह धामीले जानकारी दिए। उनले स्थानीय नागरिकका समस्या समाधान, सुशासन प्रवर्द्धन र प्रभावकारी सेवा प्रवाहका लागि ज्ञापनपत्र बुझाएको बताए।
