धन सिंह धामी
महेन्द्रनगर २८ जेष्ठ ।
समाजसेवी गोरख बहादुर चन्दले छोरा प्रानजंल चन्दको ७ औँ जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई चप्पल, पाठ्य सामग्री तथा मिठाई वितरण गरेका छन् ।
भीमदत्त–४ निवासी चन्द दम्पतीले भीमदत्त–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरेका हुन्। सामाजिक सेवामा सक्रिय चन्दले बेसहारा तथा आवश्यकतामा रहेका व्यक्तिहरूको दुःखमा साथ दिन पाउँदा आफूलाई भाग्यमानी महसुस हुने बताए। उनले छोराको जन्मदिनको खुसी बौद्धिक अपाङ्गता भएका विद्यार्थीबीच मनाउन पाउँदा सपरिवार हर्षित भएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सिंहले यस्ता क्षेत्रमा कमै सहयोग पुग्ने उल्लेख गर्दै चन्द दम्पतीलाई धन्यवाद दिएका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जया दमाईलगायतको उपस्थिति रहेको थियो ।