प्रविधिको दुरुपयोग गरी सरकारी कागजात किर्ते नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरी सरकारी तथा वडा कार्यालयका कागजातहरू किर्ते (फोर्जरी) गर्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने लाई कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रबार आज कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विगत केही समयदेखि वडा कार्यालयहरूबाट प्रवाह हुने सेवाका लागि आवश्यक पर्ने सिफारिस तथा प्रमाणित लगायतका कागजातहरूमा अनधिकृत रूपमा प्रविधिको प्रयोग भइरहेको पाइएको जनाएको छ।

सूचना अनुसार, केही व्यक्ति तथा सेवा प्रदायकहरूले वडा अध्यक्ष वा कार्यवाहक वडा अध्यक्षहरूको हस्ताक्षर किर्ते गर्ने, वडा कार्यालयको नक्कली छाप बनाउने र एआई एवं कम्प्युटर प्रविधिको दुरुपयोग गरी झुट्टा कागजात तयार गर्ने गरेको भेटिएको छ।

विशेषगरी सिफारिसकर्ता वा सम्बन्धित सेवाग्राहीको जानकारी विना नै सिफारिस तथा प्रमाणित कागजातहरू किर्ते गरी जारी गर्ने र वडा कार्यालयबाट जारी गरिने महत्त्वपूर्ण कागजातहरू आफूखुसी कम्प्युटरमै डिजाइन गरी बनाउने गरेको पाइएको प्रशासनले उल्लेख गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित फोटो स्टुडियो, साइबर केन्द्र, फोटोकपी सेन्टर, कम्प्युटर एवम् सूचना प्रविधि सम्बन्धी कार्यमा संलग्न सेवा प्रदायक फर्म तथा व्यक्तिहरूलाई यस्ता अवैध र किर्ते कार्यमा संलग्न नहुन र नगराउन अनुरोध गरेको छ।
फोर्जरी गर्ने र गराउने दुवै पक्षलाई कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
कागजातको आधिकारिकता र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले अब उप्रान्त वडा कार्यालयहरूबाट जारी गरिने सिफारिस, प्रमाणित लगायतका कागजातहरू अनलाइन माध्यमबाट पठाउनु परेमा अनिवार्य रूपमा तत् वडा कार्यालयहरूको आधिकारिक इमेल आईडी (आधिकारिक इमेल आईडी) बाट मात्र पठाउन समेत अनुरोध गरेको छ।

साथै, प्रशासनले सर्वसाधारण नागरिकहरूलाई पनि सचेत रहन आग्रह गर्दै यस्ता किसिमका शङ्कास्पद वा अवैध गतिविधिहरू भइरहेको बारे कुनै पनि सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई सहयोग गर्न अपिल गरेको छ।

Leave A Reply

Your email address will not be published.