दार्चुला । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले पर्सि सोमबार असार १ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षाका लागि जिल्ला भित्र ४ वटा परीक्षा केन्द्रहरू निर्धारण गरेको छ ।
इकाईले एक सूचना जारी गर्दै परीक्षा सञ्चालनको समय तालिका र परीक्षा केन्द्रहरु समेत सार्वजनिक गरेको हो ।कार्यालयका अनुसार आगामी असार १ गतेदेखि असार ९ गतेसम्म बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।
जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयका पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई पायक पर्ने गरी विभिन्न स्थानीय तहहरू समेटेर ४ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका इकाई प्रमुख जयराज पन्तले जानकारी दिए ।
महेन्द्र मावि खलंगा, केन्द्र अन्तर्गत ब्याँस र दुहुँ गाउँपालिकाका सम्पूर्ण माध्यमिक विद्यालयहरू, नौगाड गाउँपालिकाका लटिनाथ म वि (खार), केदारेश्वरी मावि सुण्डमुण्ड गौरीशंकर मावि नागु, भूमिराज मावि इयरकोट तथा मालिकार्जुन गाउँपालिकाको नीलपातालेश्वर मावि भर्तोला बाहेकका अन्य सबै माध्यमिक विद्यालयहरू परेका छन् । यस्तै मालिकार्जुन मावि धाप परीक्षाकेन्द्रमा महाकाली नगरपालिकाका सबै माध्यमिक विद्यालयहरू र मालिकार्जुन गाउँपालिकाको नीलपातालेश्वर माध्यमिक विद्यालय (भर्तोला परेको छ ।
यस्तै उता गोकुलेश्वर मावि गोकुलेश्व परीक्षाकेन्द्रमा शैल्यशिखर नगरपालिकाका सबै माध्यमिक विद्यालयहरू, नौगाड गाउँपालिकाका जनहित मावि (धुलिगडा), समैजी
मावि सौकेबगड गणेश विनायक मावि (सिप्टी) तथा लेकम गाउँपालिकाका सम्पूर्ण माध्यमिक विद्यालयहरू परेका छन् । यस्तै लटिनाथ म वि रस्कोट मार्मामामार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका भित्रका सम्पूर्ण माध्यमिक विद्यालयहरू राखिएका छन् ।
इकाईले परीक्षामा सहभागी हुन आउने परीक्षार्थीहरूले परीक्षा दिन आउँदा पूरक परीक्षाको आवेदन फाराम भरेको अनुमति पत्र (प्रवेश पत्र) का साथै नियमित परीक्षामा सहभागी हुँदा प्रयोग गरेको सक्कलै (ओरिजिनल) प्रवेश पत्र समेत अनिवार्य रूपमा साथमा ल्याउन भनेको छ ।
शैक्षिक सत्र २०८२ को पुरक परीक्षाको अनुमति पत्र सम्बन्धित परीक्षा केन्द्रहरूमा पठाइसकिएको हुँदा कुनै पनि दुविधा नहोस् भन्नका लागि परीक्षा सञ्चालन हुने दिन भन्दा अगावै आ–आफ्नो परीक्षा केन्द्रमा गई बुझिलिन सम्पूर्ण परीक्षार्थीहरूलाई जानकारी समेत गराइएको छ ।