खोल्सी गाउँमा पहिलो पटक गाडी पुग्दा उत्सवको माहोल, वर्षौंदेखिको यातायात सपना पूरा (फोटो फिचर)

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा –७ स्थित खोल्सी गाउँको मल्लो क्षेत्रमा  पहिलो पटक जीप पुगेपछि स्थानीयवासी हर्षित भएका छन्।
वडा नं ६ को मिलमिली हुँदै निर्माण गरिएको सडकमार्फत सवारीसाधन गाउँसम्म पुग्न थालेपछि वर्षौंदेखि यातायात पहुँचको प्रतीक्षामा रहेका स्थानीयको सपना साकार भएको हो।

यसअघि खोल्सी गाउँका बासिन्दाले गाउँसम्म पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए। सडक निर्माण सम्पन्न भई जीप गाउँसम्म पुगेपछि स्थानीयले यसलाई गाउँको विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

सडक सञ्चालनमा आएपछि दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि उपजको बजारीकरण, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने कार्य तथा विद्यार्थीहरूको आवतजावतमा उल्लेखनीय सहजता हुने अपेक्षा गरिएको छ। स्थानीयका अनुसार यातायात पहुँच विस्तारले गाउँको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्नेछ।

पहिलो पटक जीप गाउँ पुगेको अवसरमा स्थानीयवासीले उत्साहपूर्वक स्वागत गरेका थिए। गाउँमा खुसीयाली छाएको दृश्यले सडकप्रतिको वर्षौंदेखिको अपेक्षा र महत्वलाई झल्काएको थियो।

स्थानीयवासीहरूले सडक गाउँसम्म पुर्‍याउन योगदान गर्ने सबै सरकारी निकाय, जनप्रतिनिधि, प्राविधिक टोली तथा सहयोगी व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, सडकको स्तरोन्नति, नियमित मर्मतसम्भार तथा वर्षायाममा समेत निर्वाध सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

खोल्सी गाउँको सो क्षेत्रमा पहिलो पटक सवारीसाधन पुगेपछि स्थानीयले विकासको नयाँ अध्यायको सुरुवातका रूपमा लिएका छन्। यातायात सुविधाको विस्तारसँगै गाउँमा आर्थिक गतिविधि बढ्ने, सेवा पहुँच सहज हुने र समग्र जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.