“हामी त पढ्न चाहन्छाै, तर मुखियाबाले पढ्न् दिदैनन्” ।
राउटे जाति नेपालको एक मात्र फिरन्ते (घुमन्ते) आदिवासी समुदाय हो, जसको इतिहास करिब ७०० वर्ष अघि सुरु भएको मानिन्छ ।
उत्पत्ति स्थल : कर्णाली अञ्चलको कालिकोट जिल्लाको फुकोट क्षेत्र (सेती र मादी नदी बीचको जंगल) ।
उत्पत्ति समय : करिब ७ सय वर्ष अघि आफ्नै समुदायबाट अलग भएर जंगल पसेको ।
आदिपुरुष : एक किंवदन्ती अनुसार भगवान विष्णु हुन्, कली युगमा ठकुरी वंशका सन्तान मानिन्छन् ।
जातीय पहिचान : खस आर्य समुदायको पिछडिएका लोपोन्मुख आदिवासी । स्वयंले आफूलाई “वनका राजा” मान्छन् ।
थरहरू : कल्याल, रास्कोटी, समालबंशी शाही, चन्द, पाल, सिंह, रावत । २०७८ को जनगणना अनुसार ४१९ जना डडेलधुरा, १४७ जना सल्यानमा (कुल ५६६) । अन्य स्रोतमा १६४-१८४ जना राउटेहरू रहेका छन् ।
बसोबास क्षेत्र :
महाकाली, सेती, भेरी, राप्ती, कर्णाली नदी वरिपरि; दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, अछाम, जुम्ला, दार्चुला, बैतडी लगायतका जिल्लाहरू ।
पेशा वा संस्कृति :
मुख्य पेशा: शिकार, जंगली कन्दमूल/फलफूल संकलन, वनको काठबाट घरेलु सामान (सन्दुक आदि) बनाएर बजारमा बेच्नु ।
भाषा : खाम्ची (तिब्बती-बर्मेली परिवार), भरोपेली खस भाषा, नेपाली ।
धर्म : हिन्दु; मुख्य पर्वहरू माघी, दशैं ।
रहनसहन: आजसम्म आधुनिक समाजबाट अलग रहेर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका ।
राउटेहरू विस्तारै आधुनिक समाजसँग घुलमिल हुन थालेको छ, तर उनीहरूको दैनिक व्यवहार, कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ ।
राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । यिनिहरू प्राय: जसो बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाँच्ने गर्दछन् । विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गर्ने गर्दछन् ।
यिनीहरूको खास बसाेबास क्षेत्र कर्णाली, महाकाली, सेती, भेरी र राप्ती अञ्चलका पहाडी जंगल र समथर जमीनमा बस्न रूचाउँछन । यिनीहरू जंगल पानी नजिक भएकाे ठाउमा बस्न रूचाउछन । यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत, दाङ्ग, जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा विचरण
गर्दछन ।
दैनिक जीवन :
फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन । जंगलमा बसेर काठका कोषी मदुस बनाई त्यसलाई गाँउमा गएर अन्नसँग साटेर जिविका धान्ने गर्दछन् । दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू बासको प्रबन्ध गर्दछन् । वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खेल्ने र आइमाइले धान कुट्ने, निफन्ने आदि सम्म परेको ठाउँ राख्छन् । छाप्रो बनाउने कार्य महिलाले गर्छन् ।
धेरै पाठकहरूलाई जिज्ञासा हुन सक्छ किन राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ? यसको मूल कारण भनेकाे बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेकाे छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्न नसक्ने रहेछन् । मान्छे मर्ने बित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिड्छन् । नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो । अब केही हुँदैन भनेर सम्झन्छन् । त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छन् । राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन् । हिड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान
ठान्दछन् । रात पर्यो भने भगवानले यहीं बस भनेको छ भनेर ठान्दछन् । त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्राे बनाई अर्को सदस्य नमर्दासम्म अब यहाँ केही नहोस् भन्ने कामना गर्दै बस्छन । बसाई सर्दा प्रायःजसो एकपटक मानिस मरेको ठाउँमा फेरि जाँदैनन् ।
लेखक :- मान सिंह धामी (औल्लेकी)
उपप्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा) दार्चुला