बैतडी दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका शिक्षकमाथि सोही विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयभित्रै यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।
घटना करिब एक साताअघि भएको बताइएको छ। १० कक्षामा अध्ययनरत छात्रा कक्षाकोठामा एक्लै रहेको अवस्थामा राहत कोटामा कार्यरत शिक्षक नरेशबहादुर चन्दले यौन दुव्र्यवहार गरेको आरोप पीडित पक्षले लगाएको हो। पीडित पक्षले जेठ २२ गते भएको उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दर्ता गरेको जनाएको छ।
घटनापछि छात्राले घरपरिवारलाई जानकारी गराएकी थिइन्। त्यसपछि विद्यालय प्रशासनले सरोकारवाला निकायसँग छलफल गरेको थियो। छलफलका क्रममा यसअघि पनि ती शिक्षकविरुद्ध गुनासो आउने गरेको तर विद्यालयले मिलापत्रमार्फत विषय टुंग्याउने गरेको विषय समेत उठेको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले आरोपित शिक्षकलाई विद्यालयबाट बर्खास्त गरिएको जानकारी दिएका छन्। साथै घटनाबारे प्रहरीमा समेत उजुरी दर्ता भइसकेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जेठ ३० गते पीडित पक्षबाट उजुरी प्राप्त भइसकेको छ र आरोपित शिक्षक सम्पर्कमा आइसकेकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने जनाएको छ।