महाकाली कोरिडोरमा आगामी वर्ष ३९ करोड ४० लाखरुपैयाँ बजेट विनियोजन

दार्चुला । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाकालाई जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोरमा आगामी वर्ष २०८३/८४ का लागि सरकारले ३९ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ ।

कोरिडोरको थप निर्माण गर्न सरकारले चालु आव २०८२/८३ को भन्दा १६ करोड ४३ लाखभन्दा बढी रुपियाँ आगामी वर्षका लागि विनियोजन गरेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका सूचना अधिकारी एवं इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए ।

यस वर्ष कोरिडोरमा २२ करोड ९७ लाख रुपियाँ विनियोजन भएकामा गत चैतमा १५ करोड रुपियाँ थप भएको उनले जानकारी दिए । उनले चालु तथा पुँजीगततर्फ कोरिडोरलाई ४१ करोड रुपियाँ प्राप्त भएकोमा ३९ करोड ४० लाख रुपियाँमार्फत सडक निर्माण गरिने बताए ।

कोरिडोरको हालसम्म २८७.५ किलोमिटर ट्र्याक खुलिसकेको छ । आव २०६५/६६ देखि महाकाली कोरिडोर योजना सञ्चानलमा छ । उनले कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा तुसारपानीसम्मको ३३४ किलोमिटरमध्ये २८७.५ किलोमिटर सडकको ट्र्याक खुलेको जानकारी दिए ।

उहाँका अनुसार कोरिडोर अन्तर्गत ४७ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । यो कोरिडोरले कञ्चनपुरको ११ किलोमिटर, डडेलधुराको ५८, बैतडीको १४४ र दार्चुलाको १२१ किलोमिटर भूभाग ओगटेको छ ।
निर्माणाधीन कोरिडोरको ३३४ किलोमिटरमध्ये डडेलधुरामा ३.४ किलोमिटर तथा दार्चुलामा १.३ किलोमिटर गरी ४.७ किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको छ । कोरिडोर अन्तर्गत निर्माण गर्नुपर्ने ३४ वटा पक्की पुलमध्ये एउटा पुल निर्माण भएको र अझै ३३ वटा पुल निर्माण गर्न बाँकी रहेका छन् ।

कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटर रहेकामा दार्चुलास्थित तुसारपानीदेखि चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाकासम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
नेपाली सेनाले आव २०८१/८२ सम्ममा १९.८ किलोमिटर सडकको ट्र्याक खोलेको छ भने १२ किलोमिटर सडकमा (दुम्लिङगाउँसम्म) गाडी गुड्न सक्ने बनाएको छ । कोरिडोरको हालसम्म कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ३४.४ किलोमिटर, बैतडीमा १३८.९ किलोमिटर र दार्चुलामा १०३.२ किलोमिटर सडकको ट्र्याक खुलेको सूचना अधिकारी रैखोलाले जानकारी दिए । उनले यस वर्ष दार्चुलामा सडक कालोपत्रे गर्न १२ किलोमिटर सडकखण्ड ग्राभेल गरिएको बताउनुभयो ।

कोरिडोर कार्यालयले दार्चुलाको मालिकार्जुन गाउँपालिका सलेतीदेखि बेत खण्डको १२.३ किलोमिटर र खलङ्गादेखि सुन्सेरा सडकखण्डको १८.५ किलोमिटर सडक पनि कालोपत्रे गरिरहेको छ । व्यास गाउँपालिका–३, तुसारपानीदेखि उत्तरी सीमा तिङ्कर नाका जोड्ने तुसारपानी–कोठेधार–तिङ्कर सडक आयोजनामा आगामी आव २०८३/८४ का लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेट न्यून भएको भन्दै यहाँका स्थानीय निराश भएका छन् । सामरिक महìवको यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । आगामी वर्षमा यो सडक निर्माणका लागि सरकारले जम्मा १२ करोड ९९ लाख रुपियाँ विनियोजन गरेको छ । ७९ किलोमिटर सडकमध्ये तिङ्कर नाकासम्म गाडी पुर्‍याउन अझै ५९.२ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।

हरेक वर्ष विनियोजन हुने बजेट पर्याप्त नभएको व्यास गाउँपालिका–५ का वडाध्यक्ष वीरसिंह धामीले बताउनुभयो । उनले भने, “सीमाका जनताको जीवनसँग जोडिएको यो सडक निर्माण गर्न पर्याप्त बजेट विनियोजन गरिनु पथ्र्यो । बजेट विनियोजन ज्यादै न्यून भयो । यति थोरै बजेटले यहाँ सडक कसरी बन्ला भन्दै यहाँका नागरिक निराश छन् ।” नेपाली सेनाले यो सडकलाई आव २०८७/८८ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै दार्चुलाबाट निर्वाचित गणेश ठगुन्नाले पनि देश जोड्ने सडकमा कम बजेट हुनु दु:खद भएको बताए ।

Leave A Reply

Your email address will not be published.