काठमाडौँ । भारतीय इन्डो–टिबटेन बोर्डर पुलिस ‘आईटीबीपी’का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा प्रवेश गरेकोबारे भारतीय पक्षसँग कुरा भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले दाबी गरेका छन् ।
दार्चुलाका प्रजिअ अनिल पौडेलले भारतसँग त्यसबारे मौखिक कुरा भएको बताए । उनले भने, ‘अनुमति बिना हाम्रो आकाश प्रयोग भएको घटना मौखिक रूपमा जानकारी गराएका छौँ ।’
दार्चुला सदरमुकाम खलङ्गा क्षेत्रमा पनि पहिले यस्ता घटना हुने गरेको उल्लेख गर्दै प्रजिअ पौडेलले भने, ‘हामीले यस्तो गर्न मिल्दैन भनेर भनिरहेका हुन्छौँ ।’
जेठ २७ मा बिहान दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको आकाश हुँदै कालापानीतर्फ उडेको हेलिकप्टरमा इन्डो–टिबटेन बोर्डर पुलिस ‘आइटीबीपी’ का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार रहेको बताइएको छ ।
प्रजिअ पौडेलले हेलिकप्टरमा सवार सुरक्षा प्रमुखबारे भने, ‘त्यसमा आइटीबीपीको चिफ सवार हुनुहुन्थ्यो भन्ने छ ।’
नेपालको भूभागमा ल्यान्ड नगरे पनि आकाश प्रयोग गर्दा पूर्व जानकारी गराउनुपर्ने प्रजिअ पौडेलले बताए । उनले भने– ‘यसबारे एसबिएमसँग कुरा गरेका छौँ, आवश्यक परेमा लिखित पत्राचार पनि गर्छौं ।’