जिल्ला अस्पतालमा रेविज विरुद्धको खोप अभाव

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको (एआरभी) खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

सरकारले नि:शुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी रित्तो हात घर फर्कन बाध्य भएका छन् । जिल्ला अस्पताल दार्चुलाले सोमबार एक सूचना जारी गरी रेबिज रोगविरुद्ध लगाइने खोपको अभाव भएको जनाएको छ ।

अस्पतालले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई एआरभी खोप उपलब्ध गराउन नसकिने जनाएको छ ।

बिरामीले अन्यत्रबाट खरिद गरेर ल्याएमा खोप लगाइदिने जनाएको छ ।

अहिले बिरामीले आफैँ उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको अस्पताल स्रोतले जनाएको छ । उक्त खोप निकै महँगो पर्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.