प्रधानाध्यापक धामी मृत्यु प्रकरण: निष्पक्ष छानबिन र न्यायको माग गर्दै संयुक्त संघर्ष समिति आन्दोलनमा

प्रमाण सार्वजनिक गर्न र कानुनी कारबाहीको माग

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल मावि सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीको शंकास्पद मृत्युको घटनालाई लिएर विरोध प्रर्दशन भएको छ ।

सोमबार (आज) जिल्ला सदरमुकाम खलंगामा संयुक्त संघर्ष समितिले प्रधानाध्यापक धामीलाई न्यायदिनुपर्ने माग गदैँ जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत अगाडी स्थानीयहरुले विरोध प्रर्दशन संगै मागपत्र समेत बुझाएका छन् ।

संयुक्त संघर्ष समितिले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै गठित ‘बलदेव सिंह धामीको न्यायका लागि संयुक्त संघर्ष समितिले आफ्ना स्पष्ट अडान र मागहरू सार्वजनिक गरेको हो ।

संघर्ष समितिले घटनामा संलग्न भनिएका सम्पूर्ण व्यक्तिहरूमाथि कुनै पनि राजनीतिक, आर्थिक वा प्रशासनिक दबाब बिना निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ।

आशंका गरिएका मुख्य व्यक्तिहरूमध्ये विशेष गरी ३/४ जनालाई अलग राखी वैज्ञानिक तथा निष्पक्ष अनुसन्धान अगाडि बढाउन समितिले जोड दिएको छ।

प्रमाण सार्वजनिक गर्न र कानुनी कारबाहीको माग
संघर्ष समितिद्वारा जारी विज्ञप्ति अनुसार, मृतक प्रधानाध्यापकको साथबाट बरामद गरिएको मोबाइल, डायरी र अन्य सामग्रीको परीक्षण स्थिति तथा घटनासँग सम्बन्धित कल डिटेल, सन्देश, र सामाजिक सञ्जालका डिजिटल प्रमाणहरूको सूक्ष्म अनुसन्धान गरी तथ्य बाहिर ल्याउन माग गरिएको छ।

यसैगरी, अभियुक्तहरूमाथि हालसम्म भएको अनुसन्धानको अवस्था र संकलन गरिएका प्रमाणहरूबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न प्रशासनसँग माग गरिएको छ। घटनाको सत्यतथ्य लुकाउने, प्रमाण नष्ट गर्ने वा दोषीलाई संरक्षण गर्ने जो–कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको अडान छ। संयुक्त संघर्ष समितिले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जिल्ला अदालत दार्चुलाले कानुन, प्रमाण र न्यायको आधारमा मात्र फैसला गर्नुपर्ने भन्दै समितिले पर्याप्त प्रमाण हुँदाहुँदै दोषीलाई धरौटी वा सामान्य प्रक्रियाबाट उन्मुक्ति दिने प्रयास गरिएमा त्यसको सम्पूर्ण नैतिक र कानुनी जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएको छ।

पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियामा ढिलासुस्ती, लापरबाही वा पक्षपात देखिएमा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ। यदि मागहरूलाई बेवास्ता गरिएमा तत्कालैदेखि घेराउ, धर्ना, विरोध सभा र चरणबद्ध आन्दोलन सञ्चालन गरिने र आन्दोलनका क्रममा उत्पन्न हुने कुनै पनि अप्रिय अवस्था वा जनधनको क्षतिको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत दार्चुलाले लिनुपर्ने समितिले स्पष्ट पारेको छ।

फेसबुक स्टाटसपछि प्रधानाध्यापक धामीले गत जेष्ठ ४ गते सोमबार विद्यालयमै मृत्त भेटिएका थिए । प्रधानाध्यापक मृत भेटिएको घटनामा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैको अहिले अनुसन्धान जारी रहेको बताइएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.