छाङरुको आकाशमा हेलिकप्टर, के भन्छन् सुरक्षा प्रमुख ?

दार्चुला । दार्चुलाको सदरमुकाम खलंगामै भारतीय सुरक्षाकर्मीको हेलिकप्टर आउँथ्यो । यसपटक गत जेठ २७ गते बिहान १० बजेतिर व्यास गाउँपालिका–१ स्थित छाङरुको आकाश हुँदै भारतीय सुरक्षाकर्मीको हेलिकप्टर कालापानीतर्फ उड्यो ।

नेपाली आकाश हुँदै कालापानीतर्फ हेलिकप्टर उडेको दृश्य स्थानीयले देखे । छाङरुमा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीले त्यसबारे स्थानीय प्रशासनलाई जानकारी गराए । हेलिकप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ (आइटीबीपी)का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार रहेको सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन् ।

एउटा देशको हेलिकप्टर अर्को देशको आकाशमा बिनाअनुमति प्रवेश गर्नुलाई ‘एयर स्पेस भ्वाइलेसन’का रूपमा लिइन्छ । ‘नो मेन्स ल्याण्ड’ भन्दा बाहेक अर्को मुलुकको एयर स्पेशमा हेलिकप्टर उडाउनुलाई ‘सुरक्षा उल्लङ्घन’को रूपमा लिइने सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापाले रातोपाटीलाई बताए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिनाअनुमति भारतीय सुरक्षा प्रमुख सवार हेलिकप्टर नेपाली आकाशमा उडेको बताए । उनले भने, ‘हेलिकप्टरमा आइटीबीपीका चिफ सवार रहेको बुझिएको छ । हामीले त्यसबारे भारतीय पक्षसँग मौखिक कुराकानी गरेका छौँ ।’

पहिले सदरमुकाम खलंगा क्षेत्रमा यस्ता हेलिकप्टर आउने गरे पनि अहिले कम भएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘त्यस्ता घटनामा हामीले यस्तो गर्न पाइँदैन भनेर भनिरहेका हुन्छौँ ।’

एउटा देशको हेलिकप्टर अर्को देशको आकाशमा बिनाअनुमति प्रवेश गर्नुलाई ‘एयर स्पेस भ्वाइलेसन’का रूपमा लिइन्छ । ‘नो मेन्स ल्याण्ड’ भन्दा बाहेक अर्को मुलुकको एयर स्पेशमा हेलिकप्टर उडाउनुलाई ‘सुरक्षा उल्लङ्घन’को रूपमा लिइने सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापाले बताए । उनले भने, ‘बिनाअनुमति प्र्रवेश गर्न मिल्दैन । यसमा भारतीय पक्षको ध्यानाकर्षण गराउनुपर्छ ।’

छाङरु हुँदै आइटीबीपीका महानिर्देशक कालापानी पुगेको बताइएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतद्वारा अतिक्रमित नेपाली भूभाग हो, जहाँ भारतीय अर्धसैनिक फौज ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ तैनाथ छ । सो भूभाग फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेबारे नेपालको सडकदेखि संसदसम्म दबाब छ ।

सीमा रक्षक तयार गर्न सशस्त्रले भर्नामा २ प्रतिशत सिमानाका बासिन्दालाई कोटा दिन प्रस्ताव गरेको छ । यसअघि संसदमा पुगेर फिर्ता भएको सशस्त्र प्रहरी विधेयकमा त्यो विषय प्रस्ताव गरिएको थियो ।

सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपाल र भारतबिच १ हजार ९२५ किलोमिटर सीमारेखामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा विवाद रहेको जानकारहरू बताउँछन् ।

सिमानामा सुरक्षा निकायले आफ्नो म्याण्डेट अनुसार काम गर्ने भए पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने सशस्त्रका पूर्वआईजी पुष्पराम केसीले बताए ।

दार्चुलाको खलंगामा सशस्त्रका एसपीको नेतृत्वमा बटालियन तैनाथ छ । छाङरुमा डीएसपीले नेतृत्व गर्ने गुल्म छ । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले फिल्डको तत्कालीन समस्या समाधान गर्ने र वस्तुस्थितिको रिपोर्ट गर्ने पूर्वआईजी केसीले बताए । उनले भने, ‘सीमानामा भएको विवादको दीर्घकालीन समाधान गर्न कूटनीतिक पहल जरुरी छ ।’

Leave A Reply

Your email address will not be published.