आगामी बजेटको तयारीमा जुट दार्चुलाका स्थानीय तह

दार्चुला । दार्चुलाका नौवटै स्थानीय तह आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेटको तयारीमा जुटेका छन् । संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याइसकेपछि अब स्थानीय तहसमेत आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । यहाँका नौ वटै स्थानीय तह असार १० गतेभित्रै गाउँ सभा, नगर सभामार्फत आगामी आवका लागि बजेट ल्याउने तयारीमा रहेका छन् ।

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले आफूहरू बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिए । यहाँको मार्मा गाउँपालिकाले असार ६ गते गाउँ सभाको १९ औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रमसँगै बजेट पनि ल्याउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंहले जानकारी दिइन् ।

गाउँपालिकाले पुरानै कार्यक्रमको निरन्तरता तथा केही नयाँ कार्यक्रम थप गरेर आगामी आवको बजेट ल्याउने तयारी गरिरहेको उनले बताइन् । यहाँका स्थानीय तहमध्ये सबैभन्दा छिटो बजेट मार्मा गाउँपालिकाले ल्याउन लागेको छ ।

यस्तै नौगाड गाउँपालिकाले सुदूरपश्चिम प्रदेश, गाउँ सभा र नगर सभा कार्य सञ्चालन ऐन, २०७५ को दफा ३ को उपदफा ९१० बमोजिम गाउँ सभाको १९ औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले जानकारी दिए । गाउँपालिकाले असार ८ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले बताए । लेकम गाउँपालिकाले पनि असार १० गतेभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाले जानकारी दिए ।

सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट सिलिङ प्राप्त नभएको भए पनि बजेट ल्याउने आवश्यक तयारी भइरहेको उनले बताए । यहाँको शैल्यशिखर नगरपालिकाले र महाकाली नगरपालिकाले पनि असार १० गते बजेट ल्याउने तयारी गरिरहेका छन् ।

शैल्यशिखर नगरपालिकाका नगर उपप्रमुख शान्ति खडायतका अनुसार पालिकाले आगामी आवका लागि बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिइन् । नगरपालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको उनले बताइन् । नगरपालिकाले असार ८ गतेदेखि पहिलो चरणको छलफल गर्ने जनाएको छ ।

सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले केही पुराना कार्यक्रम तथा केही नयाँ कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहेको बताइन् । यहाँको दुहुँ गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी तयारी गरिरहेको उपाध्यक्ष शान्ति बमले जानकारी दिइन् ।

अपिहिमाल गाउँपालिकाले पनि बजेट ल्याउने आवश्यक तयारी गरिरहेको छ । असार ५ गते बस्ने कार्यपालिका बैठकले बजेट ल्याउने मिति तय गर्ने उपाध्यक्ष देवकीदेवी बोहोराले जानकारी दिइन् । गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको पनि उहाँले बताउनुभयो । जिल्लाको मालिकार्जुन गाउँपालिकाले पनि असार १० गते बजेट ल्याउने तयारी गरिरहेको उपाध्यक्ष कल्याणसिंह धामीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.