दार्चुला । सुदुरपश्चिम सरकारले असार १ गते सोमबार ल्याएको बजेटप्रति सत्ता पक्षभित्रै पनि असन्तुष्टि देखिएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मा नेपाली कांग्रेसका वडा सभापतिदेखि वडा सचिवसम्मका पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
उनीहरूले जनताको आवश्यकता र प्राथमिकताका आधारमा बजेट माग गर्दा बेवास्ता गरिएको तथा कमिसनमुखी प्रवृत्तिले स्थान पाएको आरोप लगाएका छन् ।
कांग्रेस निकट युवा नेता जीवन खत्रीले सामाजिक सञ्जाल मार्फत प्रदेश सरकार कमिसनको चक्रमा फसेको आरोप लगाएका छन् ।
अर्का नेता राजेन्द्र विष्टले प्रदेश सरकारको कार्यशैलीमाथि तीव्र आलोचना गर्दै मुख्यमन्त्रीको औचित्य समाप्त भएको टिप्पणी गरेका छन् ।
कांग्रेसकै अपिहिमालका नेता डम्मर कार्कीले पनि सामाजिक सञ्जालमा सरकारको कार्य शैलीप्रति असन्तुष्टि जनाएका छन् ।
प्रदेश सरकारले ल्याएको हालसम्मकै ठूलो बजेट कार्यान्वयन अघि नै विवादमा तानिएको छ ।
