दार्चुला। दार्चुलामा मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि सरकारी तथा स्थानीय स्तरमा विभिन्न प्रयासहरू भइरहे पनि संस्थागत सुत्केरी (स्वास्थ्य संस्थामा गइ सुरक्षित रूपमा बच्चा जन्माउने) को दरमा उतारचढाव देखिएको छ।
प्राप्त तथ्याङ्क अनुसार विगत दुई आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत महिनासम्मको अवधिमा संस्थागत सुत्केरी दरमा उल्लेख्य गिरावट आएको पाइएको छ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्म संस्थागत सुत्केरी दर ६५ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो दर वृद्धि भई ७३ प्रतिशत पुगेको देखिन्छ। तर, चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत महिना सम्म आइपुग्दा यो दर घटेर मात्र ४९ प्रतिशतमा खुम्चिएको छ।
स्थानीय तहगत संस्थागत सुत्केरीको विवरण अनुसार विभिन्न स्थानीय तहहरूमा विगत ३ वर्षको साउनदेखि चैतसम्मको संस्थागत सुत्केरीको सङ्ख्यात्मक अवस्था हेर्दा
महाकाली नगरपालिकामा संस्थागत सुत्केरी गराउनेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ।
आव २०८०/८१ मा १०४ जना र २०८१/८२ मा ११९ जना पुगेकोमा चालु आव २०८२/८३ को चैतसम्म ९९ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन्।
यस्तै मार्मा गाउँपालिका: आव २०८०/८१ मा ७१ र २०८१/८२ मा ८९ पुगेको यो सङ्ख्या चालु आवको ९ महिनामा ५७ रहेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङले देखाएको छ । यस्तै शैल्यशिखर नगरपालिकामा आव २०८०/८१ मा ८६ र २०८१/८२ मा ८३ रहेकोमा चालु आवको समीक्षा अवधिमा यो सङ्ख्या ४९ मा झरेको छ।
नौगाड गाउँपालिका: आव २०८०/८१ मा ६० र २०८१/८२ मा ८४ पुगेको यो सङ्ख्या चालु आवमा ५८ रहेको छ। मालिकार्जुन गाउँपालिका: आव २०८०/८१ मा ५६ र २०८१/८२ मा ५० रहेकोमा चालु आवमा २८ जनाले संस्थागत सुत्केरी गराएका छन्।
अपिहिमाल गाउँपालिका: आव २०८०/८१ मा ५१ र २०८१/८२ मा ५३ रहेकोमा चालु आवमा ३२ जना मात्र संस्थागत सुत्केरी भएका छन्। दुहुँ गाउँपालिका: आव २०८०/८१ मा ३४ र २०८१/८२ मा ४२ पुगेको यो सङ्ख्या चालु आवमा २६ रहेको छ। लेकम गाउँपालिका: आव २०८०/८१ मा ३० र २०८१/८२ मा ३२ रहेकोमा चालु आवमा २४ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्।
ब्याँस गाउँपालिका: यहाँ संस्थागत सुत्केरी गराउनेको सङ्ख्या सबैभन्दा न्यून देखिन्छ। आव २०८०/८१ मा ३७ र २०८१/८२ मा २९ रहेकोमा चालु आवको ९ महिनामा केवल १५ जनाले मात्र संस्थागत सुत्केरी सेवा लिएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा ७३ प्रतिशत पुगेको संस्थागत सुत्केरी दर चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ४९ प्रतिशतमा सीमित हुनुले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा थप चुनौती थपेको विज्ञहरू बताउँछन्।
भौगोलिक विकटता, चेतनाको कमी तथा स्थानीय स्वास्थ्य संस्थाहरूको प्रभावकारितामा आउने ह्रास जस्ता कारणहरूले यो दर घटेको हुन सक्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षका बाँकी महिनाहरूमा यो दरमा कति सुधार आउने हो, त्यो भने हेर्न बाँकी नै छ।
