दार्चुला । एनआईसी एशिया दार्चुलास्थित एक विद्यालय र काठमाडौंस्थित मेरुदण्डीय पक्षघात समूह नेपाललाई आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ती सामग्री सहयोग गरेको बताएको छ ।
बैंकले महाकाली नगरपालिका– ३, दार्चुलामा रहेको हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप तथा काठमाडौंस्थित मेरुदण्डीय पक्षघात समूह नेपाललाई आरओ वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ ।
बैंकका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउन ल्यापटप प्रदान गरिएको हो । हाल उक्त विद्यालयमा १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
३ असारमा आयोजित कार्यक्रममा बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई ल्यापटप हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको पुनस्र्थापना तथा दीर्घकालीन हेरचाहमा कार्यरत मेरुदण्डीय पक्षघात समूह नेपाललाई ५ असारमा आरओ वाटर प्युरिफायर जडान गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका काठमाडौं नर्थ सर्कल हेड सुदिनकुमार लामा र सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी र महासचिव केशव थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
बैंकले विद्यालयलाई प्रदान गरिएको ल्यापटपले विद्यार्थीहरूको शिक्षण सिकाइ प्रक्रियामा सहयोग पुग्ने तथा मेरुदण्डीय पक्षघात समूह नेपाललाई उपलब्ध गराइएको आरओ वाटर प्युरिफायरले स्वच्छ खानेपानीको पहुँच बढाउन र स्वास्थ्य तथा सरसफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
