दार्चुला । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत अन्वेषण, योजना तथा विकास निर्देशनालयबाट गरिएको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले उत्कृष्ट नतिजा हासिल गरेको छ।
गत जेठ महिनाको कार्यसम्पादन मूल्याङ्कन अनुसार हिमाली १० जिल्लालाई समेटिएको समूहगत (ङ) वर्गमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले ७९.९६ प्रतिशत प्राप्ताङ्क हासिल गर्दै (क) श्रेणीमा प्रथम स्थान प्राप्त गर्न सफल भएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार दार्चुला प्रहरीले अनुसन्धान, शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा समग्र प्रहरी गतिविधिमा प्रभावकारी कार्यसम्पादन गर्दै उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ।
उक्त उपलब्धिप्रति जिल्ला प्रहरी कार्यालय दार्चुलाले कार्यालयको अन्वेषण योजना शाखासहित सम्पूर्ण शाखा, कार्यालयबाट गठन गरिएको कार्यसम्पादन समितिका सदस्यहरू तथा मातहतका सबै प्रहरी कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले आगामी दिनमा समेत नागरिकमैत्री सेवा, सुशासन, शान्ति सुरक्षा तथा व्यावसायिक प्रहरी सेवाप्रति अझ जिम्मेवार र प्रतिबद्ध रहँदै उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिने जनाएको छ।