जिल्ला प्रहरी कार्यालय दार्चुलाद्वारा प्रहरी निरीक्षक हेमराज भट्ट ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले गत जेठ महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) को रूपमा प्रहरी निरीक्षक हेमराज भट्टलाई पुरस्कृत गरेको छ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक भट्टलाई उनको उत्कृष्ट कार्यसम्पादनको उच्च कदर गर्दै नगद पुरस्कारसहित यो सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी गौरव महतका अनुसार भट्टले चालु आर्थिक वर्षमा दर्ता भएका तथा विगतका वर्षदेखि बाँकी (पेन्डिङ) रहेका मुद्दाहरूको सफल अनुसन्धान गरेका कारण जेठ महिनाको उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरिएको बताए ।

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा खटिएर फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउ, लागुऔषध बरामद, र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

यसका साथै कार्यालय सञ्चालनका लागि मातहतका प्रहरी कर्मचारीहरूको प्रभावकारी परिचालन, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन, तथा जिल्लामा घटेका अपराधहरूको तथ्याङ्क विश्लेषण गरी कार्ययोजना निर्माणमा भट्टले उल्लेखनीय योगदान पुर्‍याएको पत्रमा उल्लेख गरिएको छ ।

संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण लगनशीलता र कर्तव्यनिष्ठ भई पूरा गर्दै आम नागरिकमाझ प्रहरी संगठनको गरिमा बढाएकाले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.