काम गर्दाको ज्याला नपाएपछि श्रमिकले बन्द गरे झोलुङ्गे पुल

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाको थलसिलिङचौरा स्थित बहुउद्देश्यीय झोलुङ्गे पुल निर्माणमा काम गरेका मजदुरहरूले लामो समयसम्म पनि ज्याला नपाएको भन्दै पुन: संघर्षका कार्यक्रम सुरु गरेका छन्।

पुल निर्माण सम्पन्न भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि आफूहरूले गरेको श्रमको पारिश्रमिक नपाएको भन्दै स्थानीय मजदुरहरूले झोलुङ्गे पुलमा बार लगाएर आवतजावत बन्द गरेका छन्।

ज्याला नपाएका मजदुरहरूले यसअघि पनि पटक–पटक आन्दोलन तथा संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएका थिए। गत वैशाख महिनामा जिल्ला प्रशासन कार्यालय दार्चुलामा गाउँपालिका, निर्माण कम्पनी र मजदुरबीच भएको छलफलमा बाँकी ज्याला एक महिनाभित्र भुक्तानी गर्ने सहमति भएको थियो।

उक्त छलफलमा दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, पुल निर्माण कम्पनी जगदम्बा दोभान कन्स्ट्रक्सनका प्रतिनिधि तथा पीडित मजदुरहरूको सहभागिता रहेको थियो।

तर, सहमतिअनुसार तोकिएको समयभित्र पनि भुक्तानी नभएपछि आफूहरू बाध्य भएर पुलमा बार लगाई आवतजावत बन्द गर्नुपरेको पीडित मजदुरहरूले बताएका छन्।

मजदुरहरूले आफूहरूको बाँकी ज्याला तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। यता, पुलमा आवतजावत बन्द भएपछि स्थानीय सर्वसाधारणलाई आवागमनमा समेत समस्या उत्पन्न भएको छ।

Leave A Reply

Your email address will not be published.