दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा– ३मा अवस्थित शिखर धुरामा आउदो मंगलबार लाग्ने पूजन जात्रामा मोबाइल फोन ड्रोन क्यामेरा लगायत विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाइएको छ ।
मालिकार्जुन विकास समितिको बैठकले असार शुक्लचतुर्दशी तिथिका दिन लाग्ने पूजन जात्रामा मोबाइल फोन लगायत अन्य विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बैठकले साउन १२ गते मंलबार बिहानदेखि सुरू हुने पूजनजात्रामा सहभागि हुने भक्तजनहरुलाई मोबाइल फोन लगायत ड्रोन क्यामेरा सहित विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा (मुखिया ) धिरेन्द्र सिह धामीले जानकारी दिए ।
अध्यक्ष धामीका अनुसार शिखर धुरामा जादाँ आफुसंग रहेको मोबाइल फोन, ड्रोन क्यामेरा, लेदर बेल्ट,एवंम अन्य पर्सहरुमाथि प्रतिबन्ध लगाइएको बताए । यस्तै बैठकले सिसाका बोतल,भाडा तथा पालाष्टिकजन्य बस्तुहरुमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
प्रसिद्धधाम शिखर धुरामा पुगेर शिखर धुराको (गात)को फोटो राखेर कुप्रचार गरिन लागेको भन्दै अहिले मन्दिर व्यवस्थापन समितिले मोबाइल फोन लगायत अन्य विभिन्न बस्तुमाथि प्रतिबन्ध लगाइएको छ ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा बझाङ कैलाली, कञ्चनपुरलगायत भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत र पिथौरागढबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।
पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पुण्य मिल्ने, खासगरी नि:सन्तालाई सन्तान सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास रहेको छ ।