कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गर्ने लगभग निश्चित भएको छ ।
केन्द्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका छन् ।
डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट निर्वाचित भट्ट २०७९ सालको निर्वाचनमा १२ हजार ११२ मत प्राप्त गर्दै विजयी भएका थिए ।
हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ले गरिरहेका छन्। उनी एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए ।
तर आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर विवाद चुलिएपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो।
संविधानअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यही विषयमा दलका नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री शाह हाल काठमाडौँमा छन्। उनले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेका छैनन् ।
केन्द्रमा शीर्ष तहमा भएको राजनीतिक सहमतिसँगै सुदूरपश्चिममा पनि नयाँ सत्ता समीकरण स्पष्ट बनेको छ। एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति गरेसँगै प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।