दार्चुला । दार्चुलामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाभित्र छोटो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको हो ।
मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले जिल्लाभित्रका कालोपत्रे र कच्चि सडकमा चल्ने सार्वजनिक सवारीसाधनका लागि छुट्टाछुट्टै भाडादर कायम गरेको बताएका छन् ।
पछिल्लो समय महाकाली लोकमार्ग अन्र्तगत पक्की सडक र अन्य ग्रामिण सडकमा चल्ने सार्वजनिक सवारीसधानहरुको नयाँ भाडादर निर्धारण गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार इन्धनको मूल्य, सडकको अवस्था, दूरी, सवारी साधनको प्रकार, मर्मत तथा सञ्चालन खर्च, बीमा, कर, चालक–सहचालकको पारिश्रमिक, भौगोलिक जटिलता तथा सार्वजनिक यातायातको उपलब्धता जस्ता पक्षलाई आधार मानेर नयाँ भाडादर निर्धारण गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको मितिदेखि नै नयाँ भाडादर लागू हुने भएको छ ।