टिंकर सडक आयोजनाका प्रमुख कर्णेल राजेश कटुवालको सम्मानसहित बिदाइ

दार्चुला । ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित जय गोरखनाथ सचेतना समाजले सरुवा भएर नयाँ कार्यक्षेत्रमा गएका नेपाली सेनाको दार्चुला–टिंकर सडक आयोजनाका प्रमुख तथा प्रमुख सेनानी कर्णेल राजेश कटुवाललाई सम्मानसहित बिदाइ गरेको छ ।

साथै आयोजनाको नेतृत्व सम्हाल्न आउनुभएका नयाँ आयोजना प्रमुख (प्रमुख सेनानी)लाई स्वागत गरिएको छ। कार्यक्रममा स्थानीयवासीले कर्णेल कटुवालले दार्चुला–टिंकर सडक आयोजनाको नेतृत्वका साथै ब्याँस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेका हुन्।

स्थानीयका अनुसार कर्णेल कटुवालको कार्यकालमा सडक निर्माणसँगै सामुदायिक तथा धार्मिक पूर्वाधार विकासमा पनि उल्लेखनीय सहयोग पुगेको थियो। विशेषगरी ब्याँस गाउँपालिका–४ सुन्सेरामा रहेको प्रसिद्ध शक्तिपीठ गोरखनाथ मन्दिर (चिलघोले) परिसरको सौन्दर्यीकरणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

गत असार २३ गते नेपाली सेनाले गोरखनाथ मन्दिर परिसरमा शिवको मूर्ति, स्वयम्भू, पशुपतिनाथ तथा गुरु गोरखनाथका प्रतीकहरू स्थापना गर्नुका साथै फूल तथा बिरुवा रोपेर निर्माण गरिएको गोरक्ष बाटिका स्थानीय समुदायलाई हस्तान्तरण गरेको थियो।

स्थानीय समुदायले कर्णेल कटुवालको योगदानप्रति आभार व्यक्त गर्दै नयाँ आयोजना प्रमुखको नेतृत्वमा पनि दार्चुला–टिंकर सडक आयोजनासँगै सामाजिक तथा धार्मिक गतिविधिमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.