कैलाली ।
सुदूरपश्चिममा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने देखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाह तत्काल मार्गप्रशस्त गर्न तयार नदेखिएकाले नयाँ सरकार गठन हुन केही दिन लाग्ने देखिएको हो ।सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी र एमाले मुख्यमन्त्री शाहको निर्णय पर्खाइमा छन् । गत ३१ असारमा अल्पमतमा परेका मुख्यमन्त्री शाह भने संविधानले दिएको समयसीमासम्म जिम्मेवारीमा रहिरहने मनस्थितिमा छन् ।
एमालेसँग सत्ता सहकार्यको सहमतिपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपाले मुख्यमन्त्री शाहलाई नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरिसकेको छ । मुख्यमन्त्री भने अहिले नै राजीनामा नगर्ने अडान लिएका छन् ।संविधानअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।मुख्यमन्त्री शाहले संविधानको सोही समयसीमाभित्र रहेर विश्वासको मत लिने वा राजीनामा दिने विकल्पमा निर्णय लिने बताएका छन् । ‘संविधानले दिएको समय सीमाभित्रै निर्णयमा पुग्छु, त्यसका लागि अझै केही दिन छ,’ नयाँ पत्रिकासँग उनले भने ।
एमालेले समर्थन फिर्ता लिएपछि गत ३१ असारमा अल्पमतमा परेका मुख्यमन्त्री शाहसँग २९ साउनभित्र विश्वासको मत लिने वा राजीनामा दिने विकल्प छ । एमालेसँगको सहमतिअनुसार सरकारको नेतृत्व गर्ने तयारी रहेको नेकपाले भने प्रदेशमा बजेटविहीनताको स्थिति रहेकाले राजीनामा दिएर जतिसक्दो चाँडो नयाँ सरकार गठनको बाटो खोलिदिन दबाब दिएको छ ।नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्री पद छोड्न तयार नदेखिएकाले यो महिनाको अन्तिमतिर मात्र नयाँ सरकार गठन हुने स्थिति रहेको बताए । ‘प्रदेशमा बजेट रिक्तताको स्थिति छ । यो स्थिति लामो समय जान नदिन पनि जतिसक्दो चाँडो नयाँ सरकार गठन आवश्यक छ,’ उनले भने, ‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले यस्तो अवस्थामा नैतिकता देखाएर आफैँ पद छोड्नुपर्ने हो ।’
