दार्चुला । नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले केन्द्रीय सदस्य पदमा पराजित भएपछि पार्टीमा कुनै पनि मनोनीत पद स्वीकार नगर्ने घोषणा गरेका छन्।
केन्द्रीय सदस्य पदमा पराजित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोशीले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरेको बताएका छन्। उनले यस पराजयलाई आफूलाई अझै परिपक्व बनाउने र नयाँ अनुभवबाट सिक्ने अवसरका रूपमा लिएको उल्लेख गरेका छन्।
‘पद प्राप्त हुनु वा नहुनुभन्दा विचार, निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुन्छ,’ जोशीले आफ्नो सन्देशमा भनेका छन्। उनले सत्यनिष्ठा, सदाचार र जनसेवाप्रतिको आफ्नो यात्रा निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, निर्वाचनका क्रममा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका छन्।
