तीन दिनदेखि नेपाली भूमि लिपुलेक हुँदै भारत–चीन व्यापार, सरकार बेखबर

काठमाडौं । नेपालको आपत्तिका बाबजुद भारत र चीनले विवादित लिपुलेक नाका हुँदै सीमावर्ती व्यापार पुन: सञ्चालन गरेका छन् ।
भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार करिब ६ वर्षपछि लिपुलेक मार्गबाट भारत–चीनबीचको सीमावर्ती व्यापार पुन: सुरु भएको हो।

पहिलो चरणमा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेका भारतीय व्यापारीहरू तिब्बत स्वायत्त क्षेत्रको ताक्लाकोट पुगेका छन् ।

धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) आशिष जोशीका अनुसार इन्डो–तिब्बत व्यापार संघसँग आबद्ध २० जना, जसमा १६ जना दर्तावाला व्यापारी र चार जना सहयोगी रहेका छन्, उनीहरूले गुन्जीस्थित अध्यागमन कार्यालयमा आवश्यक कागजी प्रक्रिया पूरा गरेका थिए।

उक्त टोलीले नाभीढाङमा एक रात बिताएर शनिबार बिहान लिपुलेक नाकातर्फ प्रस्थान गरेको थियो।
शनिबार राति १०:१५ बजे आवश्यक औपचारिकता पूरा भएपछि चिनियाँ अधिकारीहरूले भारतीय व्यापारीहरूलाई तिब्बत प्रवेशको अनुमति दिएका थिए।

त्यससँगै ताक्लाकोटको मण्डीतर्फ प्रस्थान गरेपछि यस वर्षको सीमावर्ती व्यापार औपचारिक रूपमा सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उपजिल्ला अधिकारी जोशीले यसअघि दर्ता भइसकेका अन्य व्यापारीलाई पनि प्रवेश अनुमति दिन चिनियाँ अधिकारीहरूसँग इमेलमार्फत समन्वय भइरहेको बताए। अनुमति प्राप्त भएपछि उनीहरूलाई पनि ताक्लाकोट पठाइने उनले जानकारी दिए।

यसअघि २०२५ अगस्ट १९ मा भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतबीच लिपुलेक नाका हुँदै सीमावर्ती व्यापार पुन: सञ्चालन गर्ने सहमति भएको थियो। उक्त सहमति नेपालसँग कुनै परामर्श नगरी गरिएको भन्दै नेपाल सरकारले औपचारिक रूपमा आपत्ति जनाएको थियो।

लिपुलेक क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय सीमासँग जोडिएको संवेदनशील भूभाग हो। नेपालले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने भारत र चीनले त्यही मार्ग प्रयोग गरेर व्यापार तथा आवागमन सञ्चालन गर्दै आएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.