प्रदेश प्रहरी प्रमुखद्वारा दार्चुला प्रहरी कार्यालयको निरीक्षण, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन
दार्चुला ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय दार्चुलाको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन्।
मंगलबार निरीक्षण अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका प्रहरी नायव महानिरीक्षक भट्टराईले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीलाई समयसापेक्ष, जनमुखी तथा परिणाममुखी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
उनले प्रहरी कर्मचारीलाई अनुशासित, जिम्मेवार र व्यावसायिक ढंगले कार्यसम्पादन गर्न आग्रह गर्दै वर्षायामका कारण हुन सक्ने सम्भावित जोखिमको समयमै पहिचान गरी उद्धार तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी अवस्थामा रहन निर्देशन दिए।
त्यस्तै, कुनै पनि घटना भएमा तत्काल परिचालित भई प्रभावकारी रूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था तथा नागरिकलाई प्रदान गरिँदै आएको सेवा प्रवाहबारे समेत जानकारी लिएका थिए।
निरीक्षण तथा निर्देशन कार्यक्रममार्फत प्रहरी संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
