दार्चुलाका विपन्न र टुहुरा बालबालिकालाई ‘अवसर’ परियोजनामार्फत शैक्षिक सामग्री सहयोग

दार्चुला।  जिल्लाका सीमान्तकृत, विपन्न तथा टुहुरा बालबालिकाको शैक्षिक निरन्तरताका लागि ‘अवसर’ परियोजनाअन्तर्गत शैक्षिक तथा व्यक्तिगत प्रयोगका सामग्री वितरण गरिएको छ।

गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज (सीआरडीएस) नेपाल, दार्चुलाको सहजीकरणमा सञ्चालित परियोजनामार्फत सिकाइ उपलब्धि कमजोर रहेका, नियमित विद्यालय नआउने, गरिब, अनाथ तथा विपन्न वर्गका १०९ जना बालबालिकालाई ‘पढाइ कुना’ (पढ्ने कुना) व्यवस्थापन सामग्री प्रदान गरिएको हो।

सहयोग प्राप्त गर्नेमध्ये दुहुँ गाउँपालिकाका ४९ र मालिकार्जुन गाउँपालिकाका ६० जना रहेका छन्। लाभग्राहीमध्ये ५५ जना बालिका र ५४ जना बालक छन्। उनीहरूलाई घरमै सहज वातावरणमा अध्ययन गर्न मिल्ने गरी सानो पढ्ने टेबल, सामग्री राख्ने र्‍याक तथा विभिन्न पठन सामग्री उपलब्ध गराइएको परियोजनाले जनाएको छ।

यस्तै, बालबालिकालाई नियमित विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले दुहुँ र मालिकार्जुन गाउँपालिकाका २०२ जना बालबालिकालाई शैक्षिक तथा व्यक्तिगत प्रयोगका सामग्री वितरण गरिएको छ। लाभग्राहीमध्ये दुहुँका ५९ र मालिकार्जुनका १४३ जना रहेका छन्। यस समूहमा ९० जना बालिका र ११२ जना बालक छन्।

उनीहरूलाई विद्यालय झोला, कापी, कलम, पेन्सिल, कटर, इरेजरका साथै जुत्ता, मोजा, ट्र्याकसूट र छातासमेत वितरण गरिएको छ। परियोजनाको यस सहयोगबाट विद्यालय छाड्ने दर घट्ने, विद्यार्थीको नियमित उपस्थिति बढ्ने तथा सिकाइ उपलब्धिमा उल्लेख्य सुधार आउने विश्वास परियोजनाले लिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.