काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ लिन अस्वीकार गरेका छन् ।
उक्त ऐतिहासिक घरमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जलाईएको थियो ।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा सम्भारका लागि विनियोजन गरिएको रकम स्वीकार गर्न नसक्ने जानकारी गराएका हुन् ।
उनले राज्यसँग सीमित स्रोतसाधन रहेको र ठूलो संख्यामा नागरिक अभाव तथा कठिनाइमा रहेको अवस्थामा उपलब्ध स्रोत जनताको हितमा उपयोग हुनुपर्ने भन्दै कोइराला निवासका लागि छुट्याइएको रकम फिर्ता गर्न आग्रह गरेका छन्।
विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकमा रहेको कोइराला निवास शताब्दीअघि पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर भएको पत्रमा उल्लेख छ। उक्त घर ‘कोइराला निवास’का रूपमा परिचित हुँदै आएको थियो।
डा. कोइरालाका अनुसार कृष्णप्रसाद कोइरालाले शैक्षिक जागरणमार्फत समाज रूपान्तरणको अभियान एक शताब्दीअघि सुरु गरेका थिए। विपी कोइरालाको नेतृत्वमा भएको राजनीतिक संघर्षमा कोइराला परिवारको साथ, समर्पण र सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।
उनले कोइराला निवास कोइराला परिवारको निजी घर मात्र नभई आम नेपाली जनताको भरोसा र विश्वासको केन्द्रसमेत रहेको बताएका छन्। नेपाली जनताको सामूहिक चेतनाको धरोहर, विचार, संगठन, स्वतन्त्रता र राष्ट्रियताको प्रतीकका रूपमा कोइराला निवास आज देशभर परिचित रहेको उनको भनाइ छ।
‘विपी सम्पूर्ण नेपालीको गाँस, बास र कपासका लागि जीवनभर संघर्षरत रहनुभयो’ भन्दै डा. कोइरालाले राज्यले समेत विपीप्रति सच्चा श्रद्धाञ्जली दिनुपर्ने र कोइराला निवासप्रति न्याय गर्नुपर्ने उल्लेख गरेका छन्।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। डा. कोइरालाले उक्त रकम फिर्ता गरी राज्यका सीमित स्रोतसाधन अभावमा रहेका नागरिकको हितमा प्रयोग गर्न आग्रह गरे ।
