अनशनपछि डा. गोविन्द केसी कालापानी नजिकको छाङरुमा, १०७ जनाले पाए विशेषज्ञ स्वास्थ्य सेवा

दार्चुला । धनगढीमा विभिन्न माग राख्दै अनशन बसेका डा. गोविन्द केसी पुन: दार्चुलाको दुर्गम बस्तीमा पुगेर स्वास्थ्य सेवा दिएका छन् ।

उनले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी नजिकको छाङरु गाउँमा तीनदिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

छाङरु स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा हाडजोर्नी तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छाङरु स्वास्थ्य चौकीका प्रमुख विक्रमसिंह शाहुले जानकारी दिए ।
उनका अनुसार शिविरमा हाडजोर्नीसम्बन्धी समस्या भएका १०७ जनाले विशेषज्ञ उपचार सेवा पाएका छन् । उपचार सेवा लिनेमा भारतको गब्र्याङ गाउँका ७ जना पनि रहेका छन् ।

शिविरमा छाङरुका स्थानीय बासिन्दासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न निर्माण कार्यमा संलग्न मजदुरहरूले स्वास्थ्य सेवा लिएका थिए । दुर्गम गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

डा. केसीले यसअघि अनशन बस्नुअघि पनि व्यास गाउँपालिका–४ स्थित सुनसेरामा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । यसपटक दार्चुलाको अन्तिम गाउँ तिंकरसम्म पुगेर स्वास्थ्य सेवा दिने उनको योजना थियो । तर, व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण लामो दूरी पैदल हिँड्न नसकेपछि उनी तिंकर पुग्न सकेनन् ।

तिंकर पुगेर सेवा दिन नसकेकोमा डा. केसीले क्षमायाचना समेत गरेका छन् । शिविरमा प्रयोग भएका महत्वपूर्ण औषधिहरू डा. केसीले आफ्नै खर्चमा खरिद गरी ल्याएका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.