कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।
मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने प्रयोजनका लागि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था रहेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारीसहित बैठक बोलाउन पत्र पठाएका हुन्।
तर, विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाउन पत्र पठाए पनि मुख्यमन्त्री शाहले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार मुख्यमन्त्रीले भोलि प्रदेशसभामा सम्बोधन गरेर राजीनामा गर्ने आन्तरिक छलफल गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्। सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ सांसदको समर्थन छ। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्। सरकार जोगाउन कांग्रेसको समर्थनबाहेक थप १० सांसदको समर्थन आवश्यक पर्ने भएकाले आवश्यक संख्या सुनिश्चित नभएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेको कांग्रेसको दाबी छ।
मुख्यमन्त्री शाहको राजीनामा लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले बताइन्।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। पाँचौँ मुख्यमन्त्रीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टलाई अघि सार्ने विषयमा केन्द्रमा नेकपा र एमालेबीच सहमति भइसकेको नेताहरूले बताउँदै आएका छन्।
