लेकगाउँमा टेलिकमको टावर छ, सुविधा छैन, समस्या समाधान गरिदिन आग्रह

दार्चुला । शैल्यशिखर नगरपालिका–५ लेकगाउँ क्षेत्रमा नेपाल टेलिकमको टावर रहे पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा स्थानीय सेवाग्राही सञ्चार सेवाबाट वञ्चित भएका छन्।

केही महिनादेखि टावरले नियमित रूपमा काम नगर्दा स्थानीयलाई फोन, इन्टरनेट तथा अत्यावश्यक सञ्चार सम्पर्कमा समस्या भइरहेको छ।

टेलिकमको नेटवर्क अवरुद्ध हुँदा आफन्त तथा अन्य व्यक्तिसँग फोन सम्पर्क गर्न, इन्टरनेट चलाउन, अनलाइन कारोबार गर्न तथा आवश्यक परेको समयमा आपत्कालीन सम्पर्क गर्नसमेत कठिनाइ हुने गरेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार सामान्य पानी पर्दासमेत टावरमा समस्या आउने र मोबाइल नेटवर्क तथा सञ्चार सेवा नै बन्द हुने अवस्था पटक–पटक दोहोरिँदै आएको छ।

समस्या समाधानका लागि वडा कार्यालयमार्फत सम्बन्धित नेपाल टेलिकम दूरसञ्चार कार्यालय दार्चुलालाई लिखित रूपमा जानकारी गराइसकिएको भए पनि हालसम्म स्थायी समाधान हुन नसकेको उनीहरूको भनाइ छ।

स्थानीयले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको भन्दै सम्बन्धित निकायसँग तत्काल टावर तथा नेटवर्कमा देखिएको प्राविधिक समस्या पहिचान गरी स्थायी र भरपर्दो समाधान गर्न माग गरेका छन्।

स्थानीयले सञ्चार सेवा आजको समयमा विलासिता नभई अत्यावश्यक सेवा भएकाले सामान्य वर्षा हुँदा समेत नेटवर्क अवरुद्ध हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।
विशेषगरी आपत्कालीन अवस्थामा सञ्चार सम्पर्क नहुँदा थप जोखिम निम्तिन सक्ने भएकाले नेपाल टेलिकमले विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको माग छ।

“हामीलाई आश्वासन मात्र होइन, भरपर्दो सञ्चार सेवा चाहिएको छ,” स्थानीयले भनेका छन्। सम्बन्धित निकायले तत्काल समस्या समाधान गरी लेकगाउँ क्षेत्रमा नियमित र गुणस्तरीय टेलिकम सेवा उपलब्ध गराउन उनीहरूले आग्रह गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.