दार्चुला अस्पताल भवन निर्माणमा ढिलाइ, ठेक्का रद्द गर्न मन्त्री लम्सालको निर्देशन

दार्चुला । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको दार्चुला अस्पतालको नयाँ भवन पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले ठेक्का सम्झौता तोड्न निर्देशन दिएका छन्।

अस्पताल भवनको स्थलगत निरीक्षणका लागि शनिबार दार्चुला पुगेका मन्त्री लम्सालले निर्माणको अवस्था र प्रगतिबारे जानकारी लिँदै निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा उनले लामो समयसम्म निर्माण कार्य अलपत्र परेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अब थप ढिलाइ स्वीकार्य नहुने बताएका छन्। निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेको अवस्थामा थप समय कुर्न नसकिने भन्दै उनले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीमार्फत निर्माण भइरहेको अस्पताल भवनका लागि २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग २६ करोड ४८ लाख २७ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्धारित समय बितिसक्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन।

भवन निर्माणमा भइरहेको ढिलाइका कारण अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको भन्दै मन्त्री लम्सालले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित कार्यालय तथा सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशनपछि निर्माण व्यवसायीमाथि ठेक्का सम्झौता तथा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ। भवन निर्माणको काम समयमै सम्पन्न गराउन आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल अघि बढाइने सम्बन्धित पक्षले जनाएको छ। सरोकारवालाहरूले निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् । अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.