दार्चुला । पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित प्रसिद्ध मालिकार्जुन मन्दिरमा स्थानीयले ११ बुँदे मागपत्र बुझाएका छन्।
मालिकार्जुन क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन विकाससँगै स्थानीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने मागसहित स्थानीयले मन्त्री लम्सालसमक्ष मागपत्र बुझाएका हुन्।
मन्त्री लम्साल हाल दार्चुलामा पूर्वाधार विकासको अवस्थाबारे स्थलगत अनुगमनमा रहेका छन्।
मागपत्रमा महाकाली लोकमार्गअन्तर्गत चैतलीचोरादेखि सिमलगैर बजारसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै, मालिकार्जुन धाम क्षेत्रमा खानेपानीको उचित व्यवस्था, धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, पदमार्ग तथा सडक सुधार, पर्यटकका लागि आवश्यक संरचना निर्माण र क्षेत्रको व्यवस्थित विकासका लागि पहल गर्न स्थानीयले आग्रह गरेका छन्।
स्थानीयले मालिकार्जुन क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै दीर्घकालीन गुरुयोजना बनाएर विकास गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
मन्दिर क्षेत्रसम्म पुग्ने सडक तथा पदमार्गको स्तरोन्नति, पुराना तथा जीर्ण संरचनाको पुनर्निर्माण र संरक्षण, साथै बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने माग मागपत्रमा उल्लेख छ।
मालिकार्जुन क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने भएकाले संघीय सरकारले आवश्यक बजेट र योजना उपलब्ध गराउनुपर्ने स्थानीयको भनाइ छ।
मन्त्री लम्सालले दार्चुलामा निर्माणाधीन तथा प्रस्तावित पूर्वाधार आयोजनाको अनुगमन गरिरहेका छन्। उनले पूर्वाधार निर्माणमा देखिएका ढिलासुस्ती र समस्याबारे सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइरहेका छन्।


