दार्चुला । नेपाल–भारत समन्वय समिति बैठकले सीमानाका खुला रहने समय परिवर्तन गर्ने निर्णय गरेको छ। नयाँ सहमतिअनुसार गर्मीयाममा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म र हिउँदमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सीमानाका खुला राखिने भएको छ।
सीमा क्षेत्रका नागरिकको मागलाई सम्बोधन गर्दै गरिएको समय परिवर्तनले चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथै विशेष परिस्थितिमा हुने वैध तथा परम्परागत आवागमन थप सहज हुने अपेक्षा गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।
बैठकले सीमाक्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत सीमा अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान तथा समन्वयलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको प्रजिअ पौडेलले जानकारी दिए।
