दार्चुला । मालिकार्जुन गाउँपालिकाले १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा दुरुपयोग हुनसक्ने औषधि बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाभित्र सञ्चालित खुद्रा पसल, किराना पसल, होटल तथा खाजा पसल, औषधि पसललगायत व्यवसायबाट १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीलाई यस्ता पदार्थ बिक्री–वितरण नगर्न आग्रह गरेको हो।
गाउँपालिकाका अनुसार यस्ता पदार्थको सहज पहुँचले बालबालिकाको शारीरिक, मानसिक, नैतिक तथा सामाजिक विकासमा प्रतिकूल असर पर्नुका साथै लागूऔषध दुरुपयोगतर्फ आकर्षित हुने जोखिम बढ्ने भएकाले व्यवसायी, अभिभावक तथा सरोकारवालालाई गम्भीर ध्यानाकर्षण गराइएको छ।
सूचनामा नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन २०७५, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८, लागूऔषध नियन्त्रणसम्बन्धी कानुनलगायत प्रचलित कानुनको पूर्ण पालना गर्न भनिएको छ।
साथै विद्यालय, कलेज, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा सरकारले तोकेका अन्य सार्वजनिक स्थानबाट कम्तीमा १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण नगर्न समेत उल्लेख गरिएको छ।
गाउँपालिकाले सूचना विपरीत कार्य भएको पाइएमा सम्बन्धित व्यक्ति, पसल वा व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।
गाउँपालिकाले बालबालिकालाई लागूऔषध तथा हानिकारक पदार्थबाट जोगाउँदै स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ।

