मार्मा गाउँपालिकाले विपद् प्रभावितका लागि २ लाख ५१ हजार सहयोग गर्ने

अध्यक्ष र उपाध्यक्षको एक–एक महिनाको सेवा सुविधा बाढीपीडितलाई

दार्चुला । रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भोटेकोशी नदीको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिपछि दार्चुलाको मार्मा गाउँपालिकाले राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

आज बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु। २ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै, गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीबाट समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जसअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले एक–एक महिनाको सेवा सुविधा, वडा अध्यक्षहरूले १५ दिनको सेवा सुविधा तथा कार्यपालिका सदस्यहरूले ७ दिनको सेवा सुविधा सहयोग गर्ने भएका छन्।

राष्ट्रसेवक कर्मचारीका हकमा भने नेपाल सरकारले तोकेबमोजिमको रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। मार्मा गाउँपालिकाले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साथै, गाउँपालिकाभित्रका नागरिक, कर्मचारी, बुद्धिजीवी, व्यापारी, संघसंस्था तथा सरोकारवालालाई विपद्का समयमा सहयोग गर्न अपिल गरेको छ। भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देशभरबाट राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, संस्था तथा स्थानीय तहबाट आर्थिक सहयोग जुटिरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.