पहिरोले थुनिएको चमेलिया नदीको अवरोध पूर्ण रुपमा खुल्यो

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा माथिबाट खसेको ठुलो पहिरोले थुनिएकाे चमेलिया नदी पूर्णरुपमा खुलेकाे छ।

शुक्रबार दिउँसो आंशिक रुपमा थुनिएकोमा शनिबार (आज) पूर्णरुपमा अवरोध हटेर निरन्तर रुपमा जल प्रवाह भइरहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए।

हाल उक्त स्थानमा पहिरो जाने क्रम रोकिएको र चमेलियाको जल प्रवाहमा कुनै अवरोध नभएको उनले बताए। प्राकृतिक विपत्ती जहाँ जतिबेला पनि हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रभावित क्षेत्र र नदी तटीय क्षेत्रका नागरिकलाई गाउँपालिकाबाट सूचना जारी गरिएको उनकाे भनाई छ ।

पहिरोको जोखिममा रहेको अपिहिमाल गाउँपालिका–१, भट्टार गाउँका नागरिकहरुलाई पहिरो आएकै समयमा सुरक्षित स्थान नजिकैको सिति गाउँका आफन्तहरुसँग बस्न अनुरोध गरिएको र पहिरोबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको अध्यक्ष बोहराले बताए।

पहिरोका कारण किसानहरुको बालिनालीमा क्षति भएको र क्षतिको वास्तविक विवरण बुझ्न गाउँपालिकाका कृषि तथा विपद फोकल व्यक्तिलाई प्रभावित क्षेत्रमा खटाइएको उनले जानकारी दिए। प्रभावित क्षेत्र भट्टार गाउँका स्थानीयहरुका लागि त्रिपाल, मेट्रेस लगायत तत्काल आवश्यक सामग्री गाउँपालिकाको टोलीसँगै पठाइएको अध्यक्ष बोहराले बताए।

पहिरोको प्रत्यक्ष जोखिम अपिहिमाल बेस क्याम्प पदयात्रामा परेकोले बेस क्याम्प पदयात्रा नगर्न सूचना जारी गरिएको छ । पहिरो खसेर बस्ती जोखिममा परेपछि सो क्षेत्रका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.